आमसञ्चार नीति छिट्टै ल्याउँने सञ्चारमन्त्री शर्माको भनाई
-आस्था न्यूज
साउन २३, २०८० काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उहाँले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भन्नुभयो । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पु¥याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।
सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।