अलैचीको भाउ ६ वर्षयताकै उच्च, किसान हर्षित

श्रावण २३,२०८०

-आस्था न्यूज

साउन २३, २०८० काठमाडौं ।
पूर्वी पहाडको मुख्य नगदेवालि अलैँचीको भाउ विगत ६ वर्षयताकै उच्च भएको छ ।
 
वर्षेनी ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा ६ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।
 
पूर्वी पहाडी जिल्ला पाँचथरमा अलैँची प्रतिमन (४० किलो) को ६१ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथर अध्यक्ष कुमार तामाङले जानकारी दिनुभयो ।
 
वर्षेनी भाउ घट्दै गएपछि निराश बनेका किसान नयाँ उत्पादन निस्कनै लाग्दा भाउ बढेपछि आशावादी बनेका छन् । जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अलैँची व्यवसायी खेम अधिकारी भनाई रहेको छ ।
 
भाउ वढेपनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र अलैँचीमा विभिन्न खालका रोगले मरेपछि उत्पादनमा भने ह्रास आउने सम्भावना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । पाँचथरमा ३ हजार ४ सय ४० हेक्टर जमिनमा अलैँची खेती हुदैं आएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।