Trending :
 

अवरोध गर्ने एमालेको चेतावनीकाबीच प्रतिनिधि सभा बैठक सुचारु

श्रावण २३,२०८०

-आस्था न्यूज

साउन २३, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याएको छ । छानबिन समिति गठन नभए संसद्‍मा विरोध कायम राख्ने एमालेले चेतावनी दिएको हो । 
 
१३ दिनको अवरोधपछि मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समयमा एमाले सचिव योगेश भट्टराईले सर्वोच्चका न्यायाधीश या उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठनको माग गरेका हुन् ।
 
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय छानबिन आयोग गठनका नाममा राज्यका निकायप्रति अविश्वास बढाउने काम नगर्न प्रतिपक्षी दल एमालेसँग आग्रह गरेका छन् । अनुसन्धान गर्ने निकायलाई सहयोग गर्न उनले एमालेलाई सुझाव दिए । 
 
हामन्त्री शर्माले राज्यका निकायले गरेको अनुसन्धानमा आशंका गर्न नमिल्ने बताएका हुन् । ‘सीआइबीको छानबिनप्रति अविश्वास हो ? संविधानले भन्छ संगठित अपराधको प्रहरीले छानबिन गर्ने हो’ शर्माले भने, छानबिन आयोग गरौं, कानून र संविधानले बनाएको संस्थाप्रति किन अविश्वास भयो भनेर ।’
 
सुन समातिएको बारे प्रश्न गर्दै गर्दा यही सरकारले समातेको भन्ने नबिर्सन आग्रह गरे । ‘जुन सरकारप्रति शंका छ भनिएको छ, जसले ललिता निवासको बन्द भएको फाइल खोलेको छ, अर्कोतर्फ नक्कली शरणार्थीको फाइल खोलेको छ’ शर्माले भने, अनुसन्धान गर्ने निकायलाई सहयोग गरौं, निष्पक्ष छानबिनमा सहयोग गरौ ।’
 
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणमा जान छूट दिएकोमा आपत्ति जनाएको छ । 
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले माधव नेपाललाई विदेश भ्रमणको लागि छूट दिएकोमा आपत्ति जनाएका हुन् ।