सुनकाण्डमा प्रमाणले दोषी देखिएका जुनसुकै दलको भए पनि कारबाही हुने गृहमन्त्रीको स्पष्टोक्ति
-आस्था न्यूज
साउन २३, २०८० काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा संलग्न भएको तथ्य र प्रमाणले पुष्टि भए जुनसुकै दलका नेतामाथि पनि कारबाही गर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले कसलाई तान्ने या कसलाई छाड्ने भनेर गृहमन्त्रीका रूपमा आफूले निर्देशन नदिने बताए ।
‘यहाँ प्रतिपक्षी दलका मेरा अनन्य मित्रले भेपको फाइल गृहमन्त्रीको टेबलमा छ, तर माओवादी नेतालाई कारवाही गरिएन भन्नुभयो । सीआईबीले गरेको अनुसन्धानको फाइल पहिला मेरो टेबलमा कसरी आयो ? तपाईंहरूले सरकार चलाउँदा यसरी आउँथ्यो र ?’ गृहमन्त्री श्रेष्ठले भने, ‘कसलाई तान्ने र कसलाई छाड्ने भनेर गृहमन्त्रीले निर्देशन दिन मिल्दैन । अनुसन्धान गर्न निर्देशन दिएका छौं ।’
त्यसअघि एमाले सचिव योगेश भट्टराईले भेपमार्फत आएको ९ किलो सुन प्रकरणमा माओवादीकै नेता (कृष्णबहादुर महरा) संलग्न रहे पनि कारवाही नगरिएको भन्दै प्रश्न गरेका थिए ।
‘माओवादी या अन्य कुनै पार्टीको होस्, तथ्य प्रमाणले दोषी छन् भने कोही छुट्नेवाला छैनन् । कोही उम्किन पाउँदैनन्,’ गृहमन्त्रीले भने ।