संसद अवरोधः लम्पी, डेंगी, बाढीपहिरो र मूल्यवृद्धिका मुद्दा ओझेलमा

श्रावण २४,२०८०

-आस्था न्यूज

साउन २४, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै लगातार बैठक चल्न नदिँदा संसद्मा आम सरोकारका जल्दाबल्दा विषयमा छलफल हुन सकेको छैन । संसद्मा लगातार देखिएको अवरोध हटाउन सत्तापक्षीय नेताहरूले प्रभावकारी अग्रसरता लिएको पनि देखिँदैन । 
 
हङकङबाट भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पार गराइएको करिब १ क्विन्टल सुन बरामदपछि एमालेले तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि समेत संलग्नताको आरोप लगाउँदै छानबिन समितिको माग राखेर संसद्मा अवरोध गर्दै आएको हो । राज्यको निकायले गर्ने छानबिनमा मन्त्रीहरूलाई उन्मुक्ति दिइने शंका एमालेको छ ।
 
सुन बरामद गरेर राजस्व र भन्सार छलीमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा छ । त्यही प्रकरणमा संगठित अपराधलगायतमा भर्खरै अनुसन्धान थालेको प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरो (सीआईबी) गृहमन्त्री मातहतमा पर्छ ।
 
एमालेले आफ्नो माग पूरा गराउन संसद् अवरोधमार्फत दबाब दिन खोज्दा सांसदहरूले बाढीपहिरो, भारतको धार्मिकस्थल केदारनाथको प्रवेशविन्दु गौरीकुण्डमा पहिरो जाँदा हराइरहेका नेपाली, डेंगी संक्रमण, पशुमा फैलिएको लम्पी स्किन रोग, भारतले चामल निर्यातमा रोक लगाएपछि भएको मूल्यवृद्धि र कालोबजारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् । डेंगी संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ, लम्पी स्किनबाट ५० हजार पशु मरिसकेका छन् । यहीबीचमा एक अधिवक्ताले दिएको अभिव्यक्तिलाई लिएर विरोधमा उत्रिएका महिलालाई प्रहरीले धरपकड गरेको विषयमा समेत बोल्न कतिपय सांसदले तयारी गरेको भए पनि मौका पाएनन् ।
 
फोन र एसएमएसलगायतका व्यक्तिगत विवरण ‘ट्यापिङ’ गर्ने सरकारको नीति, संसद्मा अलपत्र विधेयक जस्ता विषयमा पनि संसद्मा बहस हुन सकेको छैन । आम सरोकारका स–साना मुद्दा मुखरित गर्ने संसदीय समिति पनि सभापति चयन नहुँदा प्रभावकारी बन्न सकेका छैनन् । संसद् अवरोध भए पनि संसदीय समितिले जनसरोकारका समस्या सम्बोधनका लागि सरकारलाई निर्देशन दिन सक्छ । आजको कान्तिपुरमा खबर छ ।