Trending :
 

झापामा दश हजार मेट्रिक टन सुपारी फल्यो

श्रावण २४,२०८०

-रासस

साउन २४, २०८० काठमाडौं ।
धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । 
 
धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् । 
 
यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौदेखी जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ । 
 
मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
 
झापामा दुई हजार सात सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा आव २०७९÷८० मा १० हजार तीन सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी बताउनुहुन्छ । सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।