Trending :
 

दर्शकको रोजाइमा पर्दै आधुनिक चलचित्र भवन

श्रावण २४,२०८०

-आस्था न्यूज

साउन २४, २०८० काठमाडौं ।
आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधासम्पन्न भवन पर्न थालेका छन् । 
 
अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् ।
 
प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताउनुभयो । “अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।” उहाँका अनुसार दसैँ अगाडि नै काठमाडौँ र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् । 
 
नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भन्दै महासचिव महर्जनले विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिनुभयो । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पुर्‍याउनेतर्फ हामी केन्द्रित छौँ”, उहाँले भन्नुभयो । 
 
ग्रामीण क्षेत्रमा नयाँ चलचित्र भवन बने पनि सहर केन्द्रित सुविधा भने अझै नभएको महर्जनले बताउनुभयो । उहाँका अनुसार प्रदर्शन डिजिटल प्रविधिमा भए पनि आधुनिक सुविधा नहुँदा धेरै चलचित्र भवनले राम्रो आयआर्जन गर्न सकेका छैनन् । 
 
भदौदेखि आश गरिएका चलचित्र प्रदर्शन हुने मिति तय भएका छन् । “दर्शक नयाँ विषयवस्तुका चलचित्र सुविधासम्पन्न तरिकाले हेर्न रुचाउछन्”, उहाँले भन्नुभयो, “चलचित्रको चर्चा नभए दर्शक हलसम्म पुग्ने परिपाटी नै सकिएको छ ।”
 
चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताउनुभयो । “अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन् भन्दा फरक पर्दैन”, उहाँले भन्नुभयो, “दर्शक त्यस्ता हलमा जानै छोड्नु भएको छ । उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।”