Trending :
 

उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमणमा जाने

श्रावण २४,२०८०

-आस्था न्यूज

साउन २४, २०८० काठमाडौं ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बुधवार बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभयो ।
 
यही साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको कुनमिङ्ग सहरमा आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।
 
यस्तै बैठकले सीईडीएडब्ल्यू समिति सदस्यमा सन् २०२५-२०२८ अवधिका लागि नेपालको तर्फबाट बन्दना राणालाई तेस्रो कार्यकालका लागि पुनः उम्मेदवार पेस गर्न स्वीकृति दिइएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आर्थिक वर्ष २०८०/८१ मा आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका सात सय १५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।