Trending :
 

भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको आग्रह

श्रावण २६,२०८०

-आस्था न्यूज

साउन २६, २०८० काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ । 
 
उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताउनुभयो । 
 
उहाँले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो । संसद्मा प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताउनुभयो ।
 
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताउनुभयो । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उहाँले सोहीअनुसार नेसपा अघि बढेको बताउनुभयो ।