Trending :
 

ओलीले फेरी मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

श्रावण २८,२०८०

-आस्था न्यूज

साउन २८, २०८० काठमाडौं । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए ।
 
एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नुपर्ने हो ।’
 
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले बताए । ‘राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं कि नवौं आश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हल्लाएर हिंड्नअप्ठ्यारो लाग्नुपर्ने होइन ?’
 
२ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।