Trending :
 

दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध

श्रावण २८,२०८०

-आस्था न्यूज

साउन २८, २०८० काठमाडौं । 
बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ । तर, मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । 
 
राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई  वैकल्पिक व्यवस्था गरेर  ब्याङ्कक पठाइएको थियो । 
 
दोस्रो घटनामा फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकस्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ । 
 
यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।