Trending :
 

मन्त्रालय मातहातका निकायलाई मासिक प्रगति प्रतिवेदन बुझाउन निर्देशन

श्रावण २८,२०८०

-आस्था न्यूज

साउन २८, २०८० काठमाडौं । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिनुभएको छ । 
 
आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले योजनाअनुरुप काम सम्पन्न गर्नका लागि प्रत्येक निकायले हरेक महिना प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको हो ।
 
“राम्रोसँग काम गर्न खोजेका छौँ, अधिकतम प्रयत्न पनि गरेका छाँै, योजना पनि बनाएका छौँ”, मन्त्री शर्माले भन्नुभयो, “तै पनि सोचेअनुरुप प्रगति हुनसकेन, अति गम्भीर भएर काम गर्नुपर्ने भयो, अब चाँही हेरक महिना प्रगति प्रतिवेदन बुझाउनुस ।” 
 
कानुन बनाउनुपर्ने, प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने काममा मन्त्रालयले सहयोग गर्ने तर मन्त्रालय अन्तर्गतका ६ क्षेत्र र १८ निकायले ठोस् र मूर्तरुपमा काम गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । चालु आवमा नयाँ ढङ्गले काम गर्दै अघि बढनुपर्ने र १६औँ योजनामा सूचना प्रविधिको क्षेत्रमा कसरी प्रवेश गर्ने र ‘डिजिटल नेपाल फ्रेमवक’लाई कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट नीति बनाएर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।
 
मन्त्री शर्माले सरकारको प्राथमिकताको कार्यसूची सुशासन र पारदर्शीता नै भएको तथा आफूले गर्न सक्ने कामको मात्र योजना बनाउन र पूर्णरुपमा बजेटको कार्यान्वयन गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।