फलफूलको बिरुवा बेचेर लाखौँ आम्दानी

श्रावण ३०,२०८०

-आस्था न्यूज

साउन ३०, २०८० काठमाडौं। 
नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी बर्षको रु १५लाख देखि रु  २० लाखसम्मको बिरुवा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।
 
‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । तीन रोपनी जमिनमा फैलिएको नर्सरीमा किबी, कागती, सुन्तला, जुनार, आँप, लिची, केरा र कफीको बिरुवा उत्पादन हुँदै आएको उहाँको भनाइ थियो । थोरै लगानीबाट सुरु गरिएको व्यावसायमा करिब रु २५ लाखसम्म लगानी गरेर मौसमी रुपमा अरुलाईसमेत रोजगार दिँदै आउनुभएकी उहाँले मेहनत गरे कृषिबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो । “यहाँ उत्पादन भएका विभिन्न जातका फलफूलका बिरुवा काभ्रेपलाञ्चोकलगायत नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र पूर्वी जिल्ला खोटाङ र ताप्लेजुङसम्म पनि बिक्री हुने गरेको छ ।” उहाँले भन्नुभयो, “नर्सरीमा उत्पादन भएको बिरुवा बिक्री भएन भन्ने चिन्ता लिनुपर्दैन, ठाउँ ठाउँबाट लिन आउने गर्नुभएको छ ।”
 
विशेष गरेर अमिलो जातको फलफूलको बिरुवा उत्पादन गर्दै आएको नर्सरीमा केरा र कफीको बिरुवासमेत उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा उत्पादन हुने बिरुवा सिधैँ किसानले भन्दा पनि पालिकाले उठाउने गरेको सञ्चालक दाहालको भनाइ थियो । नर्सरीमा निरन्तर काम गर्न एक जनालाई रोजगार दिइएको छ । 
 
जेटिए अध्ययन गर्नुभएकी उहाँले नर्सरी स्थापना गरी मनग्य आम्दानी गर्दै आउनुभएको हो । कामदारसँगै दैनिक नर्सरीमा उहाँलाई ससुराबुबा मोहनमणि दाहालले व्यवस्थापनमा सहयोग गर्दै आउनुभएको छ । फुर्सदको समयमा श्रीमान्ले पनि सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
 
किसानले थोरै थोरै मात्रमा खरिद गर्ने र पालिकाले एक पटकमा धेरै मात्रामा खरिद गरेर लाने भएकाले एकै पटक बिक्री गर्न पाउँदा सजिलो पनि हुने दाहालले बताउनुभयो । नर्सरीमा धेरै मात्रमा कागती र कफीको बिरुवा बिक्री हुने गरेको छ । त्यससँगै मेकाडेमियानटलगायतको बिरुवा पनि बिक्री हुने गरेको छ ।