कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त
-आस्था न्यूज
साउन ३१, २०८० काठमाडौं ।
कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कोशी प्रदेश सभामुख विहीन छ । सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।
राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन् ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्दैन थिए ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको हो ।
कांग्रेसका मण्डल ८० वर्षका हुन् । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् ।
मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।