Trending :
 

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाग्यो

श्रावण ३१,२०८०

-आस्था न्यूज

साउन ३१, २०८० काठमाडौं ।
हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ । 
 
अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । अस्थायी मुर्दाघर वरपर मृतकका अस्थिपञ्जरको सङ्कलन जारी छ । 
 
आगोले खरानी नपारेका भग्नावशेषमा  मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् । 
 
बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् । 
 
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताउका छन् । 
 
लहाइनाका घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ । डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ । हवाई टापु शोकमा डुबेको छ । 
 
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन बाँकी छ । क्षति मूल्याङ्कन  निकायका अधिकारीले परिस्थिति सहज हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन पनि थालिएको छ ।
 
गभर्नर ग्रीन नेतृत्वको टोली आज पनि आगलागी भएको स्थानमा पुगेको छ । सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन् । 
 
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।