विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने मुडमा प्रधानमन्त्री
-आस्था न्यूज
साउन ३१, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।
‘‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’’ प्रधानमन्त्रीले भने, ‘‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिटै एउटा निर्णयमा पुग्छौँ।’’
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औल्याउँदै अपराधको सञ्जाल तोड्न सरकार कठोर रूपमा उभिने बताए ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए ।