दलाल मार्फत पोर्चुगल हिँडेका कञ्चनपुरका मनोज शाही रोमानियाको जंगलमा बेपत्ता

श्रावण ३२,२०८०

-आस्था न्यूज

साउन ३२, २०८० काठमाडौं ।
अवैध बाटो हुँदै पोर्चुगल जान हिँडेका कञ्चनपुरका २८ वर्षीय मनोज शाही रोमानियाको जंगलमा बेपत्ता भएका छन् । गत १९ वैशाखमा रोमानियाको जंगलबाट शाही हराएको उनका भिनाजु सुनीलजंग शाहीले जानकारी दिए । 
 
शाही गत २९ चैतमा भिजिट भिसामा काठमाडौंबाट दुबई उडेका थिए । उनीसँग नेपालका १७ नेपाली सोही दिन काठमाडौंबाट भिजिट भिसामै दुबई उडेका थिए । दुबईबाट रसिया हुँदै उनीहरूको समूह बेलारुसबाट लाटभियातर्फ जाँदै थियो । १० दिनदेखि जंगलको बाटो एकोहोरो हिँड्नुपर्दा मनोज शारीरिक रूपमा अशक्त भएको उनीसँगै गएका कञ्चनपुरका अर्का एक युवाले बताए । उनका अनुसार कहिले जंगल, कहिले सुक्खा पहाड हिँड्नुपर्थ्यो । मौसम धेरै चिसो थियो । लगातार हिँड्नुपर्ने । खाना र पानीसमेत खान नपाउँदा अधिकांश युवा शारीरिक रूपमा कमजोर भइसकेको उनले बताए । 
 
१७ जनाको समूहमध्ये मनोज अति कमजोर भएको, सँगै गएका राम खड्काले (नाम परिवर्तन) बताए । ‘मनोज हिँड्न सक्ने अवस्थामा थिएनन् । उनले बारम्बार अब हिँड्न सक्दिनँ, म यतै भएका आर्मी क्याम्पमा गएर सरेन्डर गर्छु, तपाईंहरू जानुस् भन्थे,’ उनले भने, ‘तर, हामीले मानेनौँ, सबैजनाले बोकेर भए पनि लैजान्छौँ भन्दै हिँड्न प्रेरित गर्‍यौँ ।’
 
केही छिनमा पछाडि फर्केर हेर्दा मनोज नदेखिएको उनले बताए । ‘मनोज पछि–पछि हिँड्थे । हामी त उनी आउँदै छन् भनेर हिँड्यौँ । पछि फर्केर हेरेको त उनी छैनन् । त्यसपछि दुईजना साथीले फर्केर खोजे, तर भेटिएनन्,’ उनले भने । टोली नै गएर मनोजको खोजी गर्दा उनी वरपर कतै नभेटिएको उनको भनाइ छ । खड्काका अनुसार मनोज लाटभिया वा बेलारुसको आर्मी क्याम्पमा गएका हुन सक्छन् । 
 
आत्मसमर्पण गरेपछि आर्मीले गाँस र वास दिने भएकाले उनी शरणमा हुन सक्ने खड्काले बताए । ‘हामी बेलारुसबाट लाटभिया जाँदै गर्दा उनी त्यतै बेपत्ता भएका हुन् । वरपर टाढा–टाढा बस्ती थिएन । तर, बोर्डर भएकाले आर्मी क्याम्प थियो । सायदै उनी त्यतै गए कि ? त्यतै–कतै हुनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।
 
पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना बेलारुसबाट स्वदेश फर्केका छन् । स्थानीय एजेन्टले आफ्नो कमिसन नपाएको भन्दै युवाहरूलाई अलपत्र पारेपछि उनीहरूले पोल्यान्ड आर्मी क्याम्प गएर आत्मसमर्पण गरेको राम खड्काले बताए । १७ जनामध्ये कञ्चनपुर, झापा र चितवनका युवा छन् । उनीहरूलाई कञ्चनपुरका एजेन्ट दीपेश शाहीले पोर्चुगलसम्म पुर्‍याउने आश्वासन दिएका थिए । पोर्चुगल लगिदिएबापत उनले प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म असुलेका थिए । रसिया पुगेपछि थप एक लाख रुपैयाँ असुलेका थिए । 
 
गत २९ चैतमा सबै युवालाई एजेन्ट दीपेशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसामा दुबई पुर्‍याएका थिए । दुबई पुगेपछि १७ जना युवाबीच चिनजान भएको थियो । केही दिन दुबई बसेपछि दलालले उनीहरूलाई रसिया पुर्‍यायो । उनीहरू रसियामा केही दिन बसे । त्यसपछि रसियाबाट करिब नौ घन्टा बाटो तय गरी ट्याक्सीबाटै बेलारुस पुर्‍याइयो । तर, नेपाली एजेन्ट दीपेश भने रसियाबाटै नेपाल फर्किए । उनले युवाहरूलाई अफगानिस्तानी दलालको जिम्मा लगाएको खड्काले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।