Trending :
 

रामेछापको दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्न गराइएको थियोः प्रधानमन्त्री प्रचण्ड

श्रावण ३२,२०८०

-आस्था न्यूज

साउन ३२, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको बताएका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको बताएका हुन् । 
 
‘हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं । त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं ।’
 
प्रधानमन्त्री दाहालले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताए । मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘हामी देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रूपमा भन्न त भन्छौं तर व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । कहीँ न कहीँ अल्मलिएका छौं,’ प्रधानमन्त्री दाहालले भने ।
 
‘हिजो हामी रक्तपातपूर्ण क्रातिमा थियौँ, तर आज हामी समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेका छौं,’ दाहालले भने, ‘फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ । आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा आउँछ । त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’
 
मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्री दाहालको दाबी छ । सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको उनले बताए । ‘सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा हामी एकताबद्ध छौं,’ उनले भने, ‘प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’
 
सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताए ।
 
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशील रहेको उनले बताए । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको उनको भनाइ छ ।
 
दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल र माओवादीका नेता जनार्दन शर्मालगायतका नेताहरूको उपस्थिति थियो ।