Trending :
 

लोडसेडिङ अन्त्यको घोषणासँगै चाँडै हरित हाइड्रोजनसम्बन्धी नीति जारी गर्ने प्रधानमन्त्रीको भनाई

भाद्र ०१,२०८०

-आस्था न्यूज

भाद्र १, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले मजाकको विषय बनाएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दैनिङ १८ घण्टासम्म लोडसेडिङको अवस्थालाई अन्त्य गरेको बताएका हुन् ।
 
विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सवलाई सम्बोधन गर्न यस रोस्ट्रममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु ।
 
त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए..., उनले भने, त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए ।
 
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको पनि प्रधानमन्त्री दाहालले बताए ।
 
प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्त्वका निर्णयहरू भएको बताएका छन् । प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ, उनले भने ।
 
नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने योजना रहेको प्रधानमन्त्री दाहालले बताए ।