गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत
-आस्था न्यूज
भदौ १, २०८० काठमाडौं ।
गत आर्थिक वर्ष २०७९र८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो ।
अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको ८ दशमलव ६५ प्रतिशत छ ।
गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशते छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।