Trending :
 

गण्डकी प्रदेशसभामा पनि प्रश्नोत्तरको अभ्यास सुरु

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौ ३, २०८० काठमाडौं ।
गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुभयो । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उहाँले जवाफ दिनुभएको थियो ।
 
प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गर्नुभएको थियो र उहाँले प्रत्येक प्रश्नको जवाफ दिनुुभएको थियो । प्रश्न गण्डकी प्रदेश क्षेत्रका थिए र अधिकांश विकास निर्माण एवं प्रदेशको चासोका विषयहरू नै थिए ।
 
गण्डकी प्रदेशसभाको यो कार्यकाल दोस्रो हो । यसअघि अघिल्लो प्रदेशसभामा यसरी मुख्यमन्त्री तथा मन्त्रीसँग प्रदेशसभाका सदस्यको सवालजवाफ अर्थात् प्रश्नोत्तर हुने गरेको थिएन । प्रदेशसभा नियमावली, २०८० मा भएको प्रावधानअनुसार बुधबार विभिन्न नौ जना सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री पाण्डेले जवाफ दिनुुभएको हो । योसँगै गण्डकी प्रदेशमा पनि अब सङ्घीय संसद्मा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने गरेको सवाल–जवाफको अभ्यास मुख्यमन्त्री र प्रदेशसभा सदस्यका बीचमा पनि सुरु भएको हो ।
 
उक्त नियमावलीको परिच्छेद ९ मा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ । उक्त परिच्छेदको ५६ मा मुख्यमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले सामान्यतया प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिनको बैठकको पहिलो एक घन्टा निर्धारण गरिने विषय उल्लेख गरिएको छ । यस नियमअन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने उल्लेख गरिएको छ ।
 
बुधबार प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठक, देवका पहारी, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, यशोदा रिमाल, लक्ष्मणबहादुर पाण्डे, सीताकुुमारी सुन्दास, गोविन्दबहादुर नेपाली र पद्मा जिसी गरी नौ जनाले विभिन्न समसामयिक विषयमा प्रश्न गर्नुुभएको थियो ।