Trending :
 

प्रतिबन्ध लगाइएको नेपाली गोलभेंडाले भारतीय मुल्य पाउन थाल्यो

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ । भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो । 
यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो ।
 
भारतमा गोलभेंडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री हुने भएकाले सिमावर्ती नेपालबाट अवैध तरिका(तस्करी)बाट नेपाली गोलभेंडा भारत जाने गर्दथ्यो ।
 
भैरहवा भन्सार कार्यालयका अनुसार, गत साउन २८ गतेदेखि नेपाली गोलभेंडा भैरहवा नाकाबाट भारत हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले एक हप्तामा भैरहवा नाकाबाट तीन पटक गरेर ७ मेट्रिक टन नेपाली गोलभेंडा भारत निकासी भएको बताए ।
 
नेपाली गोलभेंडा भारत निकासी हुँदा सीमा नाकामा रहेको नेपाली क्वारेन्टाइन कार्यालयबाट रोग, किरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान रहेको प्लान्ट क्वारेन्टाइन बेलहिया रुपन्देहीका प्रमुख कुलदिप घिमीरेले बताए । 
 
नेपाली गोलभेंडा भारत निकासी हुँदा सिमावर्ती भारतको भन्सारमापनि बिना महसुल शून्य भन्सारमा निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि निकासीमा कुनै शुल्क लाग्दैन ।
 
नेपाली गोलभेंडाको निर्यातकर्ता डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरका सञ्चालक सोनु खानले भैरहवामा आउने गरेको सल्यानको कपुरकोटमा उत्पादित नेपाली गोलभेंडा भैरहवादेखि भारत निकासी गरिएको र भारतबाट माग भए अनुरुप नेपाली गोलभेंडा उपलब्ध गराउन नसकिएको बताए । 
 
उनका अनुसार, हाल नेपाली गोलभेंडा भारतमा करिब एक सय भारुमा बिक्री हुने गरेको छ ।