Trending :
 

बसमा आगो लाग्दा २० जनाको मृत्यु, १५ घाइते

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 
 
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो । 
 
फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।
 
दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुबै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।