Trending :
 

जलविन्दुको नियमित परीक्षण गर्न सुझाव

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो । 
 
यस रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ । जलविन्दुले लक्षण नै नदेखाइ विस्तारै छेउछेउबाट दृष्टि बिगार्दै जान्छ । अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन । भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलविन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलविन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए । 
 
उक्त अस्पतालका जलविन्दु विभाग प्रमुख डा रञ्जित साहले जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिनुभयो ।
 
शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरका लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भन्नुभयो, “शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनःकाम नगर्न सक्छ । आधुनिक लेजर प्रविधि जलविन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ । उहाँले थप्नुभयो, “शल्यक्रिया वा लेजर गरेको छ भनेर ढुक्कसँग बस्नु हुँदैन, समयसमयमा परीक्षण गराइरहनु पर्दछ ।” 
 
जलविन्दु लागिसकेपछि सबैभन्दा पहिलो उपचार औषधि भएको र यो रोग लागेपछि जीवनभर नियमित औषधि प्रयोग गर्नुपर्छ । अर्का डा सन्तोषकुमार साहले आँखामा उच्च रक्तचापका कारण जलविन्दु रोग हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार जलविन्दु चार प्रकारका (‘प्राइमरी ओपन-एङ्गल ग्लुकोमा’, ‘एङ्गल क्लोजर-ग्लुकोमा’, ‘नर्मल-टेन्सन ग्लुकोमा’ र ‘डेकेन्डरी ग्लुकोमा’) हुन्छन् ।