बिदेश जान छोडेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

भाद्र ०४,२०८०

-आस्था न्यूज

भदौ ४, २०८० काठमाडौं । 
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका मिलन राईले घरको कमजोर आर्थिक अवस्थाका कमजोर भएका कारण उच्च शिक्षा अध्ययन नगरी सूर्यमुखी फूलको खेतीमा लागेका छन । 
 
गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । उनले मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँका मेनपावर कम्पनी पनि चाहारे । तर, आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा युट्युबको सहायता लिन थाले । 
 
परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उनले व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गरे। मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गरे । 
 
अहिले उनले लगाएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क फुलेको सूर्यमुखी फूलको खेती देख्दा रमित लाग्दो भएको छ ।