अवधि समुदायले गुडिया पर्व मनाउदै
-रासस
भदौ ४, २०८० काठमाडौं ।
पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन् ।
गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गाबेरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।
यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । यो सँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।
यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाई, र आवश्यक कपडा लत्तासहितको गठरी सामथ्र्य अनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले बताए ।
यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गितसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताए ।
जाँदुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ ।