जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने
-आस्था न्यूज
भदौ ४, २०८० काठमाडौं ।
जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले बताउनुभएको छ ।
अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी निशिमुराले सोमबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “सुरक्षा सुनिश्चित गर्न र यसबाट जापानको ख्यातिमा भएको क्षतिलाई सम्बोधन गर्न प्रयासहरूको स्थिति पुष्टि गरी पानी निकास गर्नेबारे निर्णय गर्न सम्बन्धित मन्त्रीहरूको बैठक हुनेछ ।
उहाँले भन्नुभयो, “सम्बन्धित मन्त्रीहरूले छलफल गर्नेछन् र आगामी कदमहरू के गर्ने भन्ने बारेमा जानकारी साझा गर्नेछन्, र यी छलफलहरूको आधारमा हामी निकासको समयको बारेमा निर्णय लिनेछौँ ।”जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०११ मा तीनवटा रिएक्टर ध्वस्त भएको आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा कुनै मिति नतोकिएको आइतबार बताउनुभएको थियो ।
सन् २०११ मा आएको भूकम्प र सुनामीका कारण फुकुशिमाको प्लान्ट ध्वस्त भएपछि करिब १३ लाख ४० हजार टन पानी जम्मा भएको छ, जुन ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुल बराबर हो । प्लान्ट अपरेटर टेप्कोका अनुसार अहिले करिब एक हजार स्टिल ट्याङ्की बराबर पानीले भरिएका छन्, ठाउँ समाप्त भएको छ र यो बिस्तारै पानीमुनिको पाइपमार्फत प्रशान्त महासागरमा निकास गर्नुको अर्को विकल्प देखिएको छैन । टेप्कोले खतरनाक रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको र यसले छोड्न लागेको पानी सुरक्षित रहेको बताएको छ ।