ललितानिवास जग्गाको २८६ प्रतिवादीसँग १८ अर्ब ३६ करोड बिगो दाबी

भाद्र ०६,२०८०

-आस्था न्यूज

भदौ ६, २०८० काठमाडौं । 
बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउने रायसहित सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । उनीहरूसँग १८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएकामध्ये चार पूर्वमन्त्री छन् । त्यस्तै, ६ पूर्वसचिवसहित १०८ जना कर्मचारी छन् । 
 
सिआइबीका अनुसार प्रतिवादी बनाइएकामध्ये दुई सय ३८ जना कसुरदार हुन् । यसबाहेक ४८ जना जग्गाधनी छन्, जसले पछि जग्गा किनेका थिए । उनीहरूलाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । प्रतिवादी बनाइएका १८ जनाको त मृत्यु भइसकेको छ । उनीहरूको सम्पत्तिबाट बिगो असुल गरिनेछ । 
 
यो प्रकरणमा मुछिएका राजनीतिक नेतृत्व तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहलगायत ‘हाइप्रोफाइल’को पनि बयान लिएपछि प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई भने प्रतिवादी बनाइएको छैन । तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ भने बोलाउँदा पनि बयान दिन नआएको सिआइबीले जनाएको छ । उनी प्रहरीको फरार सूचीमा छन् ।
 
संगठित रूपमा सरकारी कागजात किर्ते कसुरमा सिआइबीले पछिल्लोपटक ५७ दिनदेखि यो प्रकरणको अनुसन्धान गरिरहेको थियो । राजनीतिक पहुँच र शक्तिका आधारमा ०४७ देखि ललितानिवासको जग्गा हिनामिना गर्न थालिएको  थियो । यसअघि सिआइबीले ०७५ फागुनदेखि अनुसन्धान थालेको थियो । तर, ०७७ फागुनमा अनुसन्धान सकिने बेला बीचमै रोकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।