संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
-आस्था न्यूज
भदौ ७, २०८० काठमाडौं।
सभामुख देवराज घिमिरेले, संसदीय समितिका सभापति निर्वाचनको मिति तोकेका छन् ।
प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका मिनि संसद भनिने संसदीय समितिले नेतृत्व पाउने भएको छ ।
बिहिबार सभामुख देवराज घिमिरेले प्रमुख चार रानीपतिक दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि रिक्त रहेका सबै समितिको सभापतिको निर्वाचन कार्यक्रम तय गरेका हुन् ।
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको छ ।
संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन गरिएको थियो । तर, संसदीय समितिमा सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको छैन् ।