Trending :
 

नेपाल चार देश सम्मिलित महिला टी-२० शृङ्खलाको फाइनलमा

भाद्र ०८,२०८०

-आस्था न्यूज

भदौं ८, २०८० काठमाडौं ।
मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी-२० शृङ्खलाको फाइनलमा पुगेको छ ।
 
आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १-१ विकेट लिइन् ।
 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २-२ विकेट लिइन् ।
 
नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।