Trending :
 

बेपत्ता छानबिन र मेलमिलाप आयोगको कार्यावधि थपसम्बन्धी आदेश पेस

भाद्र १०,२०८०

-आस्था न्यूज

भदौं १०, २०८० काठमाडौं ।
राष्ट्रियसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको कार्यावधि थप गर्नेसम्बन्धी आदेश पेस भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयअनुसार आदेश पेस गर्नुभएको हो । 
 
मन्त्री गुरुङले ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले गत असार १९ गतेको निर्णयबाट आगमी पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको जानकारी गराउनुभयो । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरी सदनमा पेस गरेको हो । 
 
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ र ‘विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नुभयो ।
 
यस्तै बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् गठन र प्रधानमन्त्री तथा मन्त्रिहरुको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १८ गते सोमबार अपराह्न ०१ः०१ बजे बस्नेछ ।