बोक्सी आरोपमा महिलालाई अर्धनग्न बनाएर कुटपिट, ५ जना पक्राउ

भाद्र ११,२०८०

-आस्था न्यूज

भदौ ११, २०८० काठमाडौं ।
कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । 
 
मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । घटना गत बुधबार (६ भदौ) को हो । पीडितका श्रीमान् भोला चौधरी साँझपख बाहिरबाट घर फर्किँदै थिए । बाटोमै रोकेर रामसिंहासनले ‘तेरो बोक्सी श्रीमती कहाँ छ? मेरो नातिनीलाई बिरामी बनाउने रु तेरो श्रीमतीलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै छोरा-नातिसमेत लगाएर कुटपिट गर्न थाले । त्यतिवेला श्रीमान्ले हारगुहार गरेपछि घटनास्थल पुगेकी सतीदेवीमाथि रामसिंहासनको परिवार नै खनियो । उनीहरूले आफ्नो चुल्ठो समातेर लछारपछार पारेको तथा पेटिकोटबाहेक सबै कपडा फुकालिदिएर समाजको अगाडि बेइज्जत गरेको सतीदेवीले बताइन् । त्यतिवेला सिंगो समाज नै रमिते बनेको उनको गुनासो छ । 
 
आफूमाथि भएको अत्याचारबारे सतीदेवीले बेलिविस्तार लगाइन्, ‘बुध के घर पवनी छल । हम नहा के कपरा पहिनते छली । साया आ सारी मात्रै लगइने छली । हमर लुल्हाके आवाज सुइनके सरक पर गेली त हमरा पकैरके मारेलागल आ हमर सारी खिच देलक । दमासा लेखेवाला बहुत लोक छल लेकिन केउ नई बचइलक । हमर पूरा शरीर पर सिर्फ साया बचल, हम जल्दवाजी मे सरक पर गिरल सारी उठाके देह झपली । हमर इज्जत और प्रतिष्ठा सब लेललक । आव अहिसबके सहारा हव । हमारा डाइन कहिके अश्लील गारी देलक, चप्पल से मारलक, हमर सारी खोइल देलक । आव हमरा पास कुछ नै बाँकी हई । अइ उमरमे हमर इज्जत सरक पर लुटा देलक पापी सब । ९बुधबार घरमा कुलपूजा थियो ।
 
मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली-गलौज गरे, चप्पलले हिर्काए । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।’
 
त्यस दिन साँझ अमानवीय व्यवहार गरेको रामसिंहासनको परिवारले भोलिपल्ट बिहान पनि उही हर्कत दोहोर्‍यायो । बिरामी नातिनीलाई उनको आँगनमै पुर्‍याएर बोक्सी लागेको ठीक गर्न आदेश गरे । तर, सतीले आफू बोक्सी नभएको र ठीक पार्न पनि नजानेको भन्दै याचना गरिन् । त्यसपछि आक्रामक बनेका उनीहरूसँग जोगिन सतीले मोबाइलमा भिडियो खिच्ने र प्रहरीमा जाने भनेपछि पछि हटेका थिए । रामसिंहासनकी १०-१२ वर्षकी नातिनीको बिमारबारे सती अनविज्ञ छिन् । 
 
बिहीबारै (७ भदौ) सतीदेवीले प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएपछि चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । रामसिंहासन चौधरीका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी, नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीलाई नगरपालिका चोकबाट नियन्त्रणमा लिएर थुनामा राखेको हो । रामसिंहासन भने फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए । मल्लका अनुसार आरोपीविरुद्ध सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । 
 
पक्राउ परेकाहरूले भने सामान्य भनाभन मात्र भएको दाबी गरेका छन् । छरछिमेकमा कहिलेकाहीँ हुने सामान्य भनाभनको विषयलाई निराधार आरोप लगाएर ठूलो पारिएको उनीहरूको तर्क छ । उनीहरूले पक्राउ परेकामध्ये १९ वर्षीय भनिएका साजन चौधरी १४ वर्षको मात्रै रहेको पनि बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।