आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने
-आस्था न्यूज
भदौ ११, २०८० काठमाडौं ।
आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही भदौ २१ देखि २३ गते सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ ।
विगत करिब छ वर्षदेखि र कोरोनाको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन् । तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् । हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ ।
सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो । हाल नेपालमा रहेका न्युरोसर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो ।