Trending :
 

बजेट र योजनाबीच तालमेल भएनः अध्यक्ष तिमिल्सिना

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८० काठमाडौं ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
 
दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आज यहाँ आयोजित परामर्श गोष्ठीमा उहाँले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याउनुभयो । 
 
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दीगो विकास लक्ष्य प्राप्त हुन्छ । कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन ।” 
 
अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई उहाँले सुझाव दिनुभयो ।
 
उपाध्यक्ष उर्मिला अर्यालले दीगो विकास लक्ष्य प्राप्त गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रसम्म गहन छलफलका साथ कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “दीगो विकास लक्ष्यलाई दीगोपन दिन आवश्यक छ, बजेट विनियोजन र स्थानीय आवश्यकताबीच तालमेल हुनुपर्छ ।”
 
दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सङ्घीय ससद् मातहतका सबै समिति यस मुद्दालाई छलफल गराउने बताउनुभयो ।