भदौं १२, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्न नहुने बताएकी छन् ।
उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरेकी हुन् ।
८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी हुन् । मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराइन् ।
प्रधानमन्त्रीले सांसद र संसदलाई हेपेको गगनको आरोप
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, सांसद र संसदलाई नहेप्न चेतावनी दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोधगर्दै उनले गठबन्धनका सांसद थपडि बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए ।
‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।’ उनले भने, ‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’
संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ ।
उनले भने, राजनीतिक अपराधिकरण आफूहरुलाई मान्य नहुने तर्क गरे ।
‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नकोल्नुस् । यसलाई बिसाउनुस् ।’उनले भने ।
प्रश्न सुनेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहिँ कतै नचुकेको दाबी गरेका छन्। सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त दाबी गरेका हुन्। सांसदहरुले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरुलाई आग्रह गरे।