Trending :
 

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग

भाद्र १३,२०८०

-आस्था न्युज

भदौ १३ ,२०८० काठमाडौँ । 
औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ । 
 
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । “आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ”, उहाँले भन्नुभयो, “तर हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ । आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ ।”
 
एभरेष्ट पारान्टेरलल्स् सञ्चालक उमङ्ग रानासरियाले आँखा पाक्ने सङ्क्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताउनुभयो । “सङ्क्रमण बढेसँगै औषधिको माग बढेको छ  तर हामीले बढेको मागबमोजिम  आपूर्ति गरिरहेका छौ”, उहाँले भन्नुभयो, “आँखा अस्पतालमा हामीले प्रशस्त मात्रामा औषधि उपलब्ध गराएका छौ ।”
 
सञ्चालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ । अहिले मासिक ९० हजार भाइल औषधिउत्पादन गरिरहेको उहाँको भनाइ थियो । 
 
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन र  मागअनुसार आपूर्ति भइरहेको बताउनुभयो । आँखा पाक्ने रोगका लक्षणहरू आँखा रातो हुनु र चिलाउनु, आँखाबाट आँसु बगिरहनु वा कचेरा÷चिप्रा लाग्नु, आँखाको ढकनी रातो हुनु, सुन्निनु, आँखा बिझाउनु÷दुख्नु र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता समस्या भाइरल ‘कन्जङ्क्टिभाइटिस’ मा हुने गर्दछ ।
 
भाइरल ‘कन्जङ्क्टिभाइटिस’को सङ्क्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । 
 
यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका  सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन ।