जनैपूर्णिमा विशेषः जनै किन लगाउने ? (भिडियो कुराकानी)

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ ।
 
वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।
 
विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनैहरु (५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । 
 
जनैलाई यज्ञ पवित भनिन्छ । पवित्र कर्मका लागि जनै लगाइने गरिन्छ । व्रतवन्ध गरेपछि पुरुष जातिका लागि मात्रै जनै लगाउने गरिन्छ । व्रतवन्ध कर्म गरेपछि दोस्रो जन्मको रुपमा लिने गरिन्छ । थप जानकारी भिडियोमा हेर्न र पढ्न सक्नुहुने छ ।