Trending :
 

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले मार्चपास अभियान गर्ने

भाद्र १५,२०८०

-आस्था न्यूज

भदौ १५, २०८० काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् । 
 
शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने नेता अनिल शर्माले बताए । 
 
यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन् । शर्माका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले  निर्णय गरेको छ । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने शर्माले जानकारी दिए । त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ । 
 
पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ । 
 
‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौँ । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, नेता शर्माको भनाइ छ ।