Trending :
 

भारत निर्यात हुने नेपाली बिजुली प्रतियुनिट भारु १० रुपैयाँ सम्ममा बिक्री

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाउन थालेको छ । भारतको खुला बजारमा नेपाली बिजुली प्रतियुनिट भारु १० (१६ रुपैयाँ) सम्ममा बिक्री भएको छ । नेपालले भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति पाएको छ । भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म बिक्री गरेको प्राधिकरणले जनाएको छ ।
 
भारतमा विद्युत् माग उच्च हुँदा एक सातायता भारु १० हाराहारीमा मूल्य पाएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । यसमा कुनै दिन कम र कुनै दिन बढी हुने गरेको छ । तर यसको औसत हेर्दा करिब १० रुपैयाँ भारु छ ।’ अहिले विद्युत् उत्पादन करिब २३ सय मेगावाट हाराहारी पुगेको छ ।
 
प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजना निर्यातको स्वीकृति पाएको छ ।
 
यससँगै प्राधिकरणले हाल १० आयोजनाको गरी कुल ४५२ मेगावाट बिजुली भारतमा बिक्रीका लागि अनुमति पाएको छ । थप आयोजनाका बिजुली बेच्न प्राधिकरणले अनुमति मागे पनि भारतले दिएको छैन ।