Trending :
 

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि चुनावको तयारी

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
एमाले लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून भएको छ । अध्यक्षका दुई आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी र छलफल दुवै जारी छन् । निर्वाचन समितिले सोमबार बिहानबाट मतदान गराउने गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ । 
 
अध्यक्षका आकांक्षीमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल छन् । कँडेल एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष हुन् । उनी चितवन महाधिवेशनपछि तदर्थ समितिको अध्यक्षमा चुनिएका थिए ।
 
अर्का आकांक्षी रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हुन् । उनी यसअघि लुम्बिनी प्रदेशको मन्त्री हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत नेतृत्व सर्वसम्मत बनाउने गरी पहल गर्न लुम्बिनी प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीलाई निर्देशन दिएका थिए । तर, त्यो प्रयास सफल हुन नसकेपछि निर्वाचनको तयारी अघि बढेको हो । निर्वाचन भएको अवस्थामा एमालेको लुम्बिनी प्रदेश अधिवेशन एक दिन लम्बिने छ ।
 
प्रतिनिधिहरुले बन्द सत्रमा प्रस्तुत भएका राजनीतिक र आर्थिक दुवै प्रतिवेदन पारित गरेर अहिले जिल्लागत छलफलमा जुटेका छन् । बन्द सत्रको अध्यक्ष मण्डलले जिल्लागत संख्याको कोटा निर्धारण गरिदिएको छ । त्यसकै सीमाभित्र रहेर जिल्लामै छलफल गरी प्रदेशमा कमिटीमा जान इच्छुक प्रतिनिधि टुंगो लगाउने प्रयास अहिले जारी छ । त्यसपछि नेतृत्व छनोटको छलफललाई सहज बनाउने गरी अध्यक्ष मण्डलले जिल्लाहरुलाई कोटा तोकिदिएको छ ।
 
जिल्लागत छलफलसँगै अध्यक्षका आकांक्षीहरुले भने आआफ्नो प्यानल बनाउन थालेका छन् ।