कृष्ण जन्माष्ठमी विशेषः राधा र कृष्णा जसलाई जपेपनि एकै रुप हो (भिडियो सहित)

भाद्र १९,२०८०

-आस्था न्यूज

भदौं १९, २०८० काठमाडौं ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
 
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
 
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
 
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
 
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।
 
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो ।
 
श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।