सुशासन कायम गर्न दलगत स्वार्थबाट माथि उठ्नु सबैजना तयार हौंः मन्त्री अनिता देवी
-आस्था न्यूज
भदौं १९, २०८० काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सुशासन कायम गर्न दलगत स्वार्थबाट माथि उठ्नु पर्ने बताएकी छिन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले एक अर्कामाथि दोषमात्र लगाएर केही नहुनु भन्दै सुशासन कायम गर्न दलभन्दा माथि उठेर एकतावद्ध हुनु आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘राज्य व्यवस्थामा सुशासन कायम गर्न चहान्छौ भने आफ्नो दलबाट पनि माथि उठेर एकीकरण गरेर एकतावद्ध भएर लाग्नु पर्ने हुन्छ । यस्तो नगर्ने एक अर्कामाथि दोषमात्र लगाउँनु हो भने केही हुदैँन् । ’
यस्तै, उनले विगतका कमि कमजोरीहरुको समिक्षा गर्दै अब कानून निमार्ण गर्दा संविधानलाई टेकेर सबै जनताहरुलाई समेट्न पर्ने बताइन् ।
उनले भनिन् ‘विगतमा बनाएका कानूनमा के कस्ता कमजोरीहरु भयो, कस्ता कमि कमजोरीलाई हटयो भने यसलाई व्यवस्था गर्न सक्छौ । कुन वर्गलाई समेट्न सकेका छैनौँ की अझै केही समस्या थियो कि भनेर गहन अध्यन गर्न आवश्यक छ । अब संविधानलाई टेकेर जुन ऐन कानून बनाउँछौ त्यसलाई देशभरि कै कुना काप्चामा बसोबास गरेका जनताहरुलाई समेटेर बनाउँनु पर्छ ।’
यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टी, धर्म र सम्प्रदायभन्दामाथि उठेर समितिलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उनले भने, ‘समितिमा सबै पार्टी, धर्म र सम्प्रदाय भन्दामाथि उठेर मुलुकका लागि हामीलाई दिएको जिम्मेवारी त्यो पूरा गर्न सबै एक भएर पार्टीको कुनैपनि गन्द नआउँने गरी काम गर्न सक्यौ भने धेरै कामहरु हामी एकीकृत भएर पूरा गर्न सक्ने विश्वास लिएको छु । सबैसँग बसेर भ्रष्टाचार, शान्ति सुरक्षा सुदृढ बनाउने कुरामा जुन सुझाव दिनु भएको छ त्यसलाई हामी सबैले मिलेर काम गर्ने वातावरण सिर्जना गरौं ।’