आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैः कसरी मध्येरातमा भएको थियो कृष्णको जन्म (भिडियो कुराकानी)

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् ।
 
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
 
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
 
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । 
 
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
 
राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । रासस