खाली जग्गा सदुपयोग गरी कागती खेती

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
धादिङको नीलकण्ठ नगरपालिका-१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो । 
 
लम्साल भन्नुहुन्छ, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उहाँको साँझ-बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए ।
 
कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग हुनुहुन्छ । तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उहाँ भन्नुहुन्छ, “लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।”
 
बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेलाई मागअनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताउनुभयो ।