सुक्न थाल्यो, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’
-आस्था न्यूज
भदौ २०, २०८० काठमाडौं ।
ज्याक गाय र क्लाउडिया रेबाजा/सीएनएन
दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ । अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो ।
तालको पानीमा देखिएको आचर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसमा संलग्न, माछा मार्नेहरू र कृषि क्षेत्रमा संलग्नहरूको जीवनशैलीमा नकारात्मक असर पर्दै गएको छ ।
यहाँ बस्दै आएका ६३ वर्षीय नाजारियो चार्काले भने, ‘अहिलेदेखि आगामी डिसेम्बरसम्म हामीले के गर्ने हो थाहा छैन किनभने यो अवधिमा यहाँ पानी कम हुँदै जानेछ ।’ लामो समयदेखि दक्षिण अमेरिकाको सबैभन्दा ठूलो तालको नीलो पानी र खुला आकाशमा आगन्तुकहरू आकर्षित भएका छन्, जुन तीन हजार २०० वर्गमाइलभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।
कहिलेकाही यसलाई ‘अन्तर्देशीय समुद्र’ को रूपमा वर्णन गरिएको छ । यो आयमारा, क्वेचुआ र उरोस आदिवासी समुदायहरूको घर हो । त्यस्तै यो एन्डिज पर्वत श्रृङ्खलाको लगभग तीन हजार ८०० मिटर (१२ हजार ५०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा उच्च नेभिगेबल ताल हो । उच्च भागमा रहेकाले यस तालमा सौर्य विकीरण पनि उच्च स्तरमा पर्छ । त्यसैले वाष्पीकरणलाई बढाउँछ र यसको अधिकांश पानीमा नोक्सानी गर्छ ।
यस तालको वरिपरि तीस लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् । यहाँको पानीमार्फत माछा पाल्न, खेतीपाती गर्न यहाँको पानी प्रयोग गर्ने र पर्यटकहरूलाई आकर्षित गर्दै आइएको छ । जसले सीमान्तकृत क्षेत्रको अर्थतन्त्रमा बढोत्तरी ल्याएको छ ।
यद्यपी, अब ताल त्यो जादू गुमाउने जोखिममा छ ।
प्रत्येक वर्ष पानीको सतहमा उतार–चढाव हुने थाहा भए पनि जलवायु सङ्कटका कारण यी परिवर्तनहरू चरम भएका छन् । सीएनएनका मौसमविद् टेलर वार्डका अनुसार, खडेरीले ल्याएको पानीको कमीलाई अझै बिगार्दै लगेको छ ।
पेरुको राष्ट्रिय मौसम विज्ञान र जलविज्ञान सेवा (सेनाम्ही) को पुनोका निर्देशक सिक्स्टो फ्लोरेसले सीएनएनलाई भने, ‘वर्षातको समयमा जुन समय त्यहाँ पानीको सतहमा सुधार आउँछ, सोही समय अगस्ट २०२२ देखि मार्च २०२३ सम्म औसतभन्दा ४९ प्रतिशत कम वर्षा भएको थियो ।’ फ्लोरेसका अनुसार सामान्यतया तालको वाष्पीकरण अर्को केही महिना कायमै रहने देखिन्छ यदी यसो भयो भने डिसेम्बरसम्म पानीको स्तर १९९६ पछिको सबैभन्दा कम रेकर्डतर्फ जान्छ । उनले यसलाई साह्रै गम्भीर भनेर विश्लेषण गरे ।