Trending :
 

आगामी महाधिवेशनमा देउवाको तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छुः कोइराला

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ । 
 
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिनुभयो ।
 
विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उहाँले यो प्रतिक्रिया दिनुभएको हो । 
 
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाई हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”
 
पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उहाँको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभन्नुभएको उहाँको भनाइ थियो । 
 
उहाँले भन्नुभयो “सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।”