Trending :
 

भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइने गृहमन्त्री श्रेष्ठको दाबी

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताउनुभएको छ । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उहाँले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताउनुभयो ।
 
“यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो । यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।”
 
‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् तरु’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौँ ।”
 
सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गर्नुभयो । यी काम सजिलो नभएको भन्दै उहाँले भन्नुभयो, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उहाँले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताउनुभयो ।