सरकार गम्भीर नहुँदा संसद् फेरि बिजनेस विहीन
-आस्था न्यूज
भदौ २१, २०८० काठमाडौं ।
सरकार गम्भीर नहुँदा संघीय संसद् ‘बिजनेस’ विहीन भएको छ । सरकारले बिजनेस नदिएकै कारण बिहीबार बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको १५ औं प्रतिवेदन पेस र मन्त्रीसँगको प्रश्नोत्तरलाई सम्भावित कार्यसूचीमा राखिएको छ । बैठकमा आकस्मिक, शून्य र विशेष समय मात्रै राख्नुपर्ने परिस्थिति बनेको संसद् सचिवालयले जनाएको छ ।
बिजेनस नभएको भन्दै राष्ट्रिय सभा बैठक भदौ २४ मा राखिएको छ । प्रतिनिधिसभा बैठक पनि सोही दिन राख्ने तयारी थियो तर सत्तारूढ दलका मुख्य सचेतकहरूले सरकारले बिजनेस दिने बताएपछि सचिवालयले बिहीबारलाई बैठक तय गरेको स्रोतले जनाएको छ ।
‘कुनै बिजनेस नआएपछि महिला आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र मन्त्रीले जवाफ दिने बिहीबारको कार्यसूची तय गरिएको छ,’ सचिवालयका एक कर्मचारीले भने । बिहीबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिँदै छन् ।