Trending :
 

मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको डायलायसिस सेवा सुरु

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौ २२, २०८० काठमाडौं ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ ।
 
काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सुरु गरिएको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अस्पताल अवलोकनका क्रममा बताउनुभयो । उहाँका अनुसार अब काठमाडौँका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।
 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताउनुभयो । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो । तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको लामाको भनाइ छ ।
 
अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । 
 
अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।