Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग:

राजकुमार र मन्त्रीको गिरफ्तारी सुरुवात मात्र

कार्तिक २३,२०७४

-एजेन्सी

२३ कार्तिक /रियाद

साउदी अरबका महान्यायधिवक्ता शेख साउद अब मोजेबले आइतबार भ्रष्टाचारको आरोपमा ११ जना राजकुमार र चार बहालवाला तथा दर्जनौं पूर्वमन्त्रीहरूको गिरफ्तारी भ्रष्टाचारविरोधी अभियानको सुरुवात मात्रै भएको टिप्पणी गरेका छन् ।

साउदी अरबमा आइतबार भ्रष्टाचारको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । महान्यायधिवक्ता मोजेबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो गिरफ्तारी भ्रष्टाचारको जरोसम्म पुगेर उखेलेर फाल्ने अभियानको सुरुवात हो ।’

भ्रष्टाचारको आरोपमा साउदी अरबका राजनीतिक नेता तथा व्यापारीसमेत पक्राउ परेका छन् । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा बनेको भ्रष्टाचार निरोधक समितिले उनीहरूलाई पक्राउ गर्न आदेश दिएको हो ।

 

महान्यायाधिवक्ता शेख साउद अलब मोजेबले विज्ञप्तिमा छानबिनको पहिलो चरण पूरा भएको समेत उल्लेख गरेका छन् । जसमा लेखिएको छ, ‘बलिया तथ्यहरूलाई जम्मा गरेर गहन सोधपुछ गरिएको छ ।’

भ्रष्टाचारको आरोपमा पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया अबलम्वन गर्ने अधिकार रहेको उल्लेख गर्दै मुद्दाका समयमा पारदर्शिताका साथ काम गरिने जनाइएको छ । साउदी अरब र यमनको सीमा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनाको समेत जाँच भइरहेका बेला भ्रष्टाचार प्रकरण पनि बाहिर आएको हो ।

आइतबार निरीक्षणबाट फर्किरहेका बेला साउदीको आसिर प्रान्तका डेपुटी गभर्नर प्रिन्स मन्सुर बिन मुकरिनको हेलिकोप्टर

दुर्घटनाको सिकार भएका थिए । मन्सुर पूर्वइन्टेलिजेन्स प्रमुख मुकरिन बिन अब्दुल अजिजका छोरा हुन् । उनी जनवरी र अप्रिल २०१५ को बीचमा युवराज थिए । यद्यपि उनलाई प्रिन्स मोहम्मदका बाबु किंग सलमानले हटाएका थिए ।

साउदी अरबको सरकारी समाचार एजेन्सीले प्रिन्स र सात अधिकारी आभा सहरको पूर्वी तटीय इलाकाका परियोजनाको निरीक्षणमा रहेका बेला दुर्घटना भएको जनाएको छ । सरकारी समाचार च्यानल अल–इखबारियाले सार्वजनिक गरेका तस्बिर र भिडियोमा मृत्युको केही घन्टाअघि प्रिन्स र उनका साथीहरूले हेलिकोप्टर प्रयोग गरेको देखाइएको छ ।

पछिल्ला करिब साढे दुई वर्षदेखि साउदी अरबले यमनमा हुथी विद्रोहीविरुद्धको कारबाहीका लागि संयुक्त गठबन्धन सेनाको नेतृत्व गरिरहेको छ । साउदी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो दुर्घटना र विवादबीच कुनै सम्बन्ध नरहेको दाबी गरिएको छ । यद्यपि शनिबार साउदी सेनाले राजधानी रियादनजिकै हुथी लडाकुले प्रहार गरेको ब्यालिस्टिक मिसाइल खसालेको थियो ।

पछिल्लो केही समयदेखि साउदी अरबमा तीव्र रूपमा परिवर्तन देखा पर्न थालेका छन् । अरब जगतको सबैभन्दा ठूलो देश साउदी अरब एक सम्प्रभु राष्ट्रका रूपमा ८५ वर्षमा अभूतपूर्व हलचल पैदा गर्न सफल भएको छ ।